सुनसरी बहुमुखी क्याम्पसमा चौथो क्याम्पस सभा
13 day(s) ago
सुनसरी बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा मंसिर ६ गते शनिवार सम्पन्न भएको छ। सभामा कोसी प्रदेशका माननीय पर्यटन, वन तथा वातावरण मन्त्री श्री सदानन्द मण्डलज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। माननीय मन्त्रीज्यूले क्याम्पसले उच्च शिक्षाको विकासमा पुर्याउँदै आएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै शैक्षिक गुणस्तर समृद्ध बनाउन राज्य, समुदाय र शैक्षिक क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका क्रममा क्याम्पसलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्व सञ्चालक समितिका अध्यक्षज्यूहरूलाई सम्मान प्रदान गरिएको थियो। त्यसैगरी विद्यार्थी नेतृत्व विकासमा उल्लेखनीय योगदान पु¥याउनुहुने पूर्व स्वतन्त्र विद्यार्थी युनियनका सभापति/अध्यक्षज्यूहरूलाई पनि सम्मान गरियो। सम्मानित व्यक्तिहरूको योगदानबारे क्याम्पस परिवारले गहिरो कृतज्ञता व्यक्त गरेको थियो।
सभामा क्याम्पस प्रशासनले विगत वर्षको प्रगतिबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै भौतिक तथा शैक्षिक विकासका उपलब्धिहरू, चुनौतीहरू र आगामी रणनीतिबारे जानकारी गराएको थियो। आर्थिक पक्षमा क्याम्पसले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को अनुमानित आय–व्यय विवरण सभाले सम्मानपूर्वक अनुमोदन गरेको थियो।
यस अवसरमा क्याम्पस प्रमुखज्यूले आगामी वर्ष क्याम्पसको शैक्षिक स्तर उकास्ने उद्देश्यका साथ अनुसन्धान, पूर्वाधार विस्तार, नयाँ कार्यक्रम सञ्चालन तथा क्याम्पस वातावरण सुधारका लागि आवश्यक योजनाहरू अगाडि सारिने जानकारी गराउनुभयो। उहाँले क्याम्पसलाई प्रदेशकै आदर्श सार्वजनिक क्याम्पसका रूपमा उभ्याउन सबै पक्षको निरन्तर सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
सम्मान, समीक्षा र आगामी वर्षका नीतिगत योजना स्वीकृतिसँगै चौथो क्याम्पस सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।
Sunsari Multiple Campus